आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

काठमाडौँ उपत्यकामा भेटिएनन् कोरोना संक्रमित

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार १७:४८ मा प्रकाशित (४ साल अघि) ३२७ पाठक संख्या

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएका छैनन्। केहि समय अगाडि उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि पछिल्ला केही दिनदेखि सो संख्यामा कमी आएको थियो । शुक्रबार उपत्यकामा भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको थियो।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्ले २४ घण्टामा देशभर गरेर ५७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभरका २७ प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

शनिबार थप ५७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। यो सँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ। त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए।