काठमाडौं । रानीपोखरीमा डिप बोरिङको धमिलो पानी झारिरहेको तस्बिरले यति बेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
सम्पदा संरक्षणमा चासो राख्नेदेखि स्थानीयवासी समेतले बोरिङको पानीले पोखरी भर्नु दीर्घकालीन समाधान होइन भन्दै विरोध गरेका छन् । उनीहरूले आकाशे पानी र अन्य स्रोतको पानीलाई पोखरीमा झार्न सुझाव दिएका छन् । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको रानीपोखरीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ ।
सो कामको रेखदेख गरिरहेका इन्जिनियर राजुमान मानन्धरले पोखरीमा डिप बोरिङको फोहोर पानी कामदारको गल्तीले गर्दा परेको बताए । ‘पानी सफा गर्न केही समय बाहिर फाल्नुपर्नेमा कामदारले कुरा नबुझी सीधै पोखरीमा खसालिदिएछन् । त्यसैको तस्बिरले चर्चा पाएको हो, नियतवश त्यसो गरिएको होइन’, उनले भने ।
पोखरीमा पानी भर्ने प्रक्रियाबारे स्पष्ट पार्दै उनले डिप बोरिङ पानीको प्रमुख स्रोत नभई अन्तिम विकल्प मात्र हो भने । उनले पानीका विभिन्न स्रोत उपयोग गरी पोखरीमा सधैँ पानी जम्मा गरिरहने व्यवस्था गरिने जानकारी दिए । त्यहाँ पानी भर्न अन्तिम विकल्पका रूपमा डिप बोरिङ दुईवटा खनिएको तर पोखरीमा पानी जम्मा गर्न आकाशे पानी, टुँडिखेलको इनार र मेलम्चीको खानेपानीको एउटा लाइन समेतको व्यवस्था गरिने इन्जिनियर मानन्धरले जानकारी दिए ।
उनले विगतमा जस्तो भूमिगत पानीको स्रोत रानीपोखरीसम्म पुग्ने व्यवस्थामा विविध कारणले अवरोध आएकाले पानी कम हुनाले यसअघि पनि दरबार हाइस्कुल र त्रिचन्द्र कलेजको छानाबाट झर्ने आकाशेपानी पोखरीमा राखिएको थियो, त्यस्तै व्यवस्था फेरि गरिनेछ, भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।