आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर्न मानव अधिकार आयोगको माग

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १५:४७ मा प्रकाशित (४ साल अघि) ३४३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीको रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै महामारीको असहजताबीच जोखिममा रही काम गरिरहेका पत्रकारको श्रमको सम्मान गर्न र रोजगारीबाट नहटाउन सञ्चार प्रतिष्ठान र नेपाल सरकारलाई आग्रह गरेको हो ।

आयोगले महामारी र लकडाउनको बेला केही सञ्चारगृहले लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिएको, जिम्मेवारीबाट हटाएको, विनाकारण अति दुर्गम स्थानमा सरुवा गरी मानसिकरुपमा तनावसमेत दिएको भनी उजुरी परेको बताएको छ ।

विज्ञप्तिमा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्ला सदरमुकामहरुबाट दुईहजार जनाभन्दा बढी श्रमजीवी पत्रकार पेसाबाट पलायन हुनु परेको नेपाल पत्रकार महासंघले जानकारी गराएको उल्लेख गरेको छ ।

श्रमजीवी पत्रकारहरुमाथि भएको यस प्रकारको गतिविधिबाट नेपालको संविधानको धारा ३४ को उपधारा (१) र (२) बमोजिमको श्रम, सुविधा, पारिश्रमिक र सामाजिक सुरक्षाको हकबाट पत्रकारहरु वञ्चित हुन पुगेको आयोगको भनाइ छ ।

त्यस्तै नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा ७ द्वारा प्रदत्त जीवीकोपार्जनका लागि श्रमिकले भेदभावरहित ढङ्गबाट उचित पारिश्रमिक पाउने अधिकारको उल्लंघन भएको पनि आयोगले बताएको छ ।

आयोगले श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ को दफा २० मा श्रमजीवी पत्रकारहरुलाई मर्का पर्नेगरी सेवा सर्त तथा सुविधामा परिवर्तन नगरिने उल्लेख भएको पनि आयोगले स्मरण गराएको छ ।