आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौंको टोखाबाट अपहरणमा परेका व्याक्तिको ३ घण्टामा सकुशल उद्धार

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १८:३२ मा प्रकाशित (४ साल अघि) ९३० पाठक संख्या

काठमाडौं – काठमाडौंमा शुक्रबार बिहान अपहरणमा परेका व्यक्तिको दिउँसो सकुशल उद्धार गरिएको छ।

टोखाको कोठाबाट रामबाबु साहलाई चार/पाँच जनाको समूहले अपहरण गरेर लगेका थिए। आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए।

लगत्तै उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबालाई अपहरण गरेको भन्ने खबर गरे। त्यसपछि महानगरीय अपराध महाशाखाको टोली खटियो। प्रहरी ३ घण्टापछि साहलाई सकुशल उद्धार गर्न सफल भयो।

प्रहरीले लोकन्थलीको एक कोठाबाट शुक्रबार दिउँसो साढे १ बजेतिर सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले साहलाई सोही कोठामा बन्धक बनाएर राखेका थिए।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबारको विषयमा साहले २५ लाख लिएको भन्ने बुझिएको छ,महाशाखाका एसपी होविन्द्र बोगटीले भने,त्यही रकम चाहिएको भन्दै अपहरण गरेको देखिन्छ।

एसपी बोगटीका अनुसार उनीहरूबाट कुनै हतियार फेला परेको छैन।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।