आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

भारतबाट २१ जना नेपाली महिलाको उद्धार

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०८:१७ मा प्रकाशित (४ साल अघि) २७४ पाठक संख्या

झापा । भारतको मणिपुर राज्यबाट उद्धार गरिएका २१ नेपाली महिलालाई ९ महिनापछि स्वदेश फर्काइएको छ ।

उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी तथा माइती नेपालको पहलमा ३० असारमा स्वदेश फर्काइएको हो ।

ती महिलाहरुलाई दलालले मणिपुरबाट म्यान्मार पुर्या‍र खाडी मुलुकहरुमा घरेलु श्रमिकको रुपमा लैजान लागेको थाहा पाएपछि गएको असोजमा उद्धार गरी भारतमै विभिन्न पुनस्थापना गृहमा राखिएको थियो ।

पूर्वको काँकडभिट्टा नाकाबाट ल्याइएका उनीहरुमध्ये केही पूर्वी नेपालकै विभिन्न जिल्लाका भएकाले उतै राखिएको र १३ जनालाई हिजो राति काठमाडौं ल्याइएको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिए ।

पीसीआर परीक्षणमा सबै जनाको नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई केही समय क्वारेन्टिनमा राखिने उनले बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनीहरुलाई क्वारेन्टिनमा राखेर परामर्श समेत दिइनेछ’ खड्काले भने । (कारोबार)