आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

बोलिभियाका रात्रिकालीन मजदुरले रेनकोट लगाएर काम थाल्ने

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०७:१८ मा प्रकाशित (४ साल अघि) ३८० पाठक संख्या

बोलिभियाका रात्रिकालीन मजदुर रेनकोट लगाएर काममा फर्किने भएका छन्। खासगरी डिस्कोमा नृत्य गर्ने र यौनकर्मीहरुले पञ्जा, मास्क, भाइजर र रेनकोट लगाएर काममा फर्किने बताएका हुन्।

बोलिभियाका रात्रिकालीन मजदुरको संगठन ओटीएन–बी ले आफूहरुलाई यस्तो पोशाक लगाउन सुझाव दिइएको उनीहरुले बताएका छन्। उनीहरुले अनुहार ढाक्ने मास्क र आँखा हेर्नका लागि प्लाष्टिकको चस्मा र भाइजर लगाउने जनाएका छन्। दक्षिण अमेरिकाका धेरै देशमा यौन व्यवसायलाई कानुनी मान्यता छ। यो व्यवसायमा लागेकालाई लाइसेन्समार्फत नियमन गरिन्छ।

बोलिभियाले गत मार्चदेखि नै बन्दाबन्दीलाई केही खुकुलो पारेको छ। तर, यौनलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइएको छैन। राति लगाइएको कफ्र्यू पनि हटाइएको छैन।

एक रात्रिकालीन कामदार भानेसा दुई सन्तानकी ‘एकल आमा’ हुन्। उनी आफ्ना बच्चाको पढाइका लागि पैसा जम्मा गर्न पनि काम आवश्यक भएको बताउँछिन्। उनी भन्छिन्, “हाम्रा ग्राहक सुरक्षाको उपायहरुलाई सम्मान गर्छन्, हामी हाम्रो सुरक्षाका जे उपायहरुको कुरा गरिरहेका छौँ त्यो उनीहरुको लागि पनि हो।”

अर्की रात्रिकालीन कामदार एन्टोनियाका अनुसार उनी अहिले पनि कागजको मास्क प्लास्टिकको भाइजर, पञ्जा र रेनकोट लगाएर काममै छिन्। उनले नाच्न प्रयोग गर्ने खम्बालाई पनि औषधिबाट संक्रमणरहित बनाइन्छ।

बोलिभियामा कोरोनाभाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ। तीमध्ये १६ हजार ३५७ जना निको भएका छन् भने एक हजार ९४२ जनाको मृत्यु भएको छ। गत हप्ता त्यहाँका अन्तरिम राष्ट्रपति जेनिन एनेज चाभेजले ट्विट गर्दै उनको कोभिड–१९ परीक्षणको नतिजा पोजेटिभ आएको जनाएकी थिइन्।

-बीबीसीबाट