आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न मेडिकल काउन्सिलका एक सदस्यसहित चार चिकित्सक पक्राउ

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार १०:०५ मा प्रकाशित (४ साल अघि) २११ पाठक संख्या

काठमाडौं – अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् । उनीहरु शनिबार साँझ पक्राउ परेका हुन् ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार मिर्गौला प्रत्यारोपणको घटना एक वर्षअघिको हो । श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् । श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि अनौपचारिक जानकारी पाएको र औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने स्रोतले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणमा मतियार बनेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन् । ब्यूरोले यसबारे विस्तृत विवरण आइतबार पत्रकार सम्मेलनमार्फत दिने तयारी गरेको छ ।