आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

खाली चेक दिने २ जना पक्राउ

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार ०८:२१ मा प्रकाशित (४ साल अघि) ५८३ पाठक संख्या

खातामा रकम नभएको चेक दिएर १६ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको ताम्सिपाखाकी सुनिता चित्रकार र कलंकीका मनोजलाल सिंह सुवाल छन्।

चित्रकारलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत २०७६ फागुन १८ गते तीन दिन कैद र रु ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। लुकिछिपि बस्दै आएकी उनलाई प्रहरीले बिहीबार स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

त्यसैगरी, उच्च अदालत पाटनबाटै २०७६ माघ १४ मा सात दिन कैद र रु. १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएकोमा फरार रहेका कलंकीका मनोजलाल सिंह सुवाललाई प्रहरीले आज रविभवनमा फेला पारी पक्राउ गरेको छ। उनलाई पनि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

चित्रकार र सुवालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी जाहेरवालाहरुलाई झुक्यानमा पारि बिभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको अदालतको ठहर छ।

प्रतिवादीहरु उपर बैकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी उच्च अदालत पाटनबाट सो फैसला भएको हो।