आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नगर भित्रका सामाजिक विकास कार्यक्रमहरुमा एकरुपता ल्याउँछौं  : मेयर चालिसे

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार ००:२० मा प्रकाशित (४ साल अघि) १०६६ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिका भित्रका सामाजिक विकास कार्यक्रमहरु नगर वा वडा जसअन्र्तत पर्छन सोही अनुसार कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइने बताएका छन् । उनले सामाजिक विकासका कार्यक्रमहरु नगर अन्र्तगतका कार्यक्रम नगरपालिकाले र वडा अन्तर्गतका कार्यक्रम वडा कार्यालयलेनै संचालन गर्ने व्यवस्था मिलाइने बताएका हुन ।

जोरपाटी स्थित पिस ब्यांकेटमा भएको पाँचौ नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै मेयर चालिसेले नगरपालिकाका कार्यक्रमहरुमा एकरुपता र जनता केन्द्रीत भएको बताए ।

मेयर चालिसेले नगरपालिकाको सामाजिक विकास नीतिको बारेमा बोल्दै महिला समूह संघ संस्था नबिकरण र दर्ता प्रक्रिया सहज र सरल बनाइने बताए। उनले नगरपालिका भित्रका बेरोजगार युवाहरु तथ्यांक संकलन गरि उनीहरुको आवश्यकता र इच्छा अनुसारको शिप बिकासमा लगाईने जानकारी दिए । ‘ज्येष्ठ नागरिक, एकल महिला अपांग र दलित बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाइ अझ सरल र सहज बनाउँदै लगिने छ ,बाल मैत्री स्थानीय शासन स्थापनाको लागि बाल मैत्री नगर घोषणाका आधारहरु तयार गरिने छ’ उनले भने

मेयर चालिसेले नगर भित्रका स्थायी बसोबास भएका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम गरि नगरपालिकाबाट थप भत्ता दिने समेत व्यवस्था मिलाइने  बताए ।

त्यस्तै बागमती नदि क्षेत्रमा आफ्नो जग्गा परि हाल सम्म मुआब्जा नपाएकाहरुको मुवाब्जाका लागि सम्बन्धित निकायमा जोडदार पहल गरिने जानकारी दिए । काठमाडौं जिल्ला लगायत अन्य जिल्लाका स्थानीय तहहरु संग सहकार्य गरि संयुक्त विकास निर्माणका कार्यहरुमा जोड दिने मेयर चालिसेको भनाई थियो।

फोटो / सरोज बस्नेत