आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

भारतीय मिडियालाई उपेन्द्र यादवले दिएको अन्तरवार्ताले हंगामा

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार १२:४४ मा प्रकाशित (४ साल अघि) ५०५ पाठक संख्या

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर, आफूले बोलेका कुराहरु तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ ।

भारतीय च्यानल टीभी ९ सँगको अन्तरवार्तामा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न नसक्ने’ बताएको भन्दै एउटा फुटेज प्रचार गरिएको छ । यो फुटेजलाई नेपालीहरुले पनि सामाजिक सञ्जालमा सेयर गर्दै यादवको आलोचना सुरु गरेका छन् ।

प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीका विषयमा भारतीय मिडियाले आपत्तिजनक रिपोर्ट बनाएको सन्दर्भमा नेपालका पूर्वउपप्रधानमन्त्री यादवसँग टीभी ९ का अभि उपाध्यायले प्रश्न सोधेका थिए ।

अन्तरवार्तामा यादवलाई सोधिएको छ, ‘कयौं स्रोतबाट यो कुरा आइरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीभित्र पनि कुरा उठिरहेको छ कि किन चीनका राजदूतको हस्तक्षेपलाई ओलीले बढावा दिइरहेका छन् भनेर । त्यसैले म यो सवाल तपाईंसँग गर्दैछु कि के यो हनी ट्रापको मामला हुन सक्छ ?’

भिडियोमा यादवले जवाफ दिन्छन्, ‘यो कुरालाई इन्कार गर्न सकिँदैन । यसलाई गहिरोसँग हेर्नुपर्ने आवश्यकता छ । मानिसहरुले सवाल उठाइरहेका छन् । यसमा पनि केही तर्क छ ।’

प्रस्तोताले फेरि सोध्छन्, ‘के यो विषयमा अनुसन्धान हुनुपर्छ भन्ने तपाईंको आशय हो ?’

यादवले भन्छन्, ‘निश्चितरुपमा यसलाई जरोसम्म पुगेर हेर्नुपर्ने हुन्छ ।’

यता यादवले आफूले बोलेको कुरालाई तोडमोड गरेर भारतीय मिडियाले गलत प्रचार गरेको र बेइमानी गरेको बताए । कथित ‘हनी ट्यापिङ’ का बारेमा सोधिएको प्रश्नमा आफूले यस्तो विषयमा अनुसन्धान गरेर, बुझेर मात्रै धारणा बनाउन आफूले भारतीय मिडियालाई सुझाव दिएको तर, हनी ट्यापिङबारे छानविन गरिनुपर्छ नभनेको यादवले स्पष्ट पारे ।

‘मैले अगाडि बोलेको पनि काटिएको छ, वाक्य पूरा नै नभई वीचको राखेर प्रसारण गरिएको रहेछ’ यादवले भने, अध्ययन गर्नुपर्छ र अध्ययन गरेर मात्रै यस्तो कुराहरु बोल्नुपर्छ भन्ने चाहिँ काटेको छ, अध्ययन गर्नुपर्छ भन्नेसम्म चाहिँ राखेको छ ।’

यादवले अगाडि थपे, ‘तिनीहरुले कस्तो बदमासी गरेको हेर्नोस् त । वाक्य पनि अपूर्ण छ नि त्यहाँ । अगाडि र पछाडिको काटेर वीचको मात्रै राख्दाखेरि त अर्थको अनर्थ हुन्छ नि । यस्तो पनि अनैतिकता गर्ने ?’