आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

बालुवाटरमा ओली- प्रचण्डबीच झण्डै डेढ घण्टाको वार्ता पनि निर्णायक बन्न सकेन

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १६:०६ मा प्रकाशित (४ साल अघि) ३६० पाठक संख्या

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको बैठक पनि निर्णायक बन्न सकेन ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा वार्ता भएर पनि कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जनाएको छ ।

वार्ता भोलि बिहान पनि हुने जनाइएको छ । नेकपा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्दै छ । बैठक अघि नै दुई अध्यक्षबीच निर्णायक वार्ता हुने अनुमान छ ।

दुई अध्यक्षबीचको आजको वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए ।

अध्यक्ष दाहालका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएका थिए ।

जारी स्थायी कमिटी बैठक बिहीबारदेखि स्थगित गर्दै निकास खोज्ने प्रयासमा लागेका शीर्ष नेताहरू विवाद मिलाउन भन्दा पनि आआफ्नो शक्ति देखाउन क्रियाशील हुँदा शनिबार बस्ने भनिएको दुई पक्षको बैठकसमेत हुन सकेन ।

प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आआफ्नो कित्ता स्पष्ट गर्न निर्देशन दिइसकेका छन् । उनीइतरको समूहले ओलीलाई कारबाही गर्नेसम्मको तयारी गरेको छ ।

शनिबार बिहान तथा साँझसम्म पटकपटक भएका प्रचण्ड नेपाल समूहको बैठकले विधि र पद्धतिभन्दा बाहिर गएर प्रधानमन्त्रीले धम्क्याउन थालेको र युवाहरूलाई प्रदर्शनमा उतार्न थालेकाले अब स्थायी कमिटी बैठकलाई निरन्तरता दिएर आवश्यक निर्णय गर्ने तयारी गरेको छ ।

उक्त सूचना पाएलगत्तै प्रधानमन्त्री ओली अझ उत्तेजित बन्दै मन्त्रीहरूलाई अब आफू वारपारको चरणमा प्रवेश गर्न लागेको र त्यसमा को कुन समूहमा लाग्ने भनेर आ(आफ्नो बाटो स्पष्ट गर्न मन्त्रीलाई निर्देशन दिएका छन्।

शनिबार साँझ मन्त्रीहरूसँग भएको आकस्मिक बैठकमा ओलीले आफूविरूद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरूद्धसमेत महाअभियोग लगाउनेसम्मको तयारी भएपछि संसद् अधिवशेन अन्त्य गरिएको बताएका थिए ।

स्रोतकाअनुसार सहमति नभए प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णयअघि नै पार्टी फुटाउन सहज हुने गरीको राजनीतिक दलसम्बन्धी अध्यादेश अघि बढाउनेसम्मको तयारीमा छन् ।

त्यसैको तयारीस्वरूप ओलीले तीन दिनअघि यही असार १७ गते राति कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटसमेत गरेका छन् । उक्त भेटमा सत्तासमीकरणका विषयमा छलफल भएको हुन सक्ने भन्दै ओली इतरको समूह अझ सशंकित भएको छ ।

यद्यपि कांग्रेसले भने उक्त भेट सत्तासमीकरणका विषयमा नभइ संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा भएको प्रष्ट्याएको छ ।

स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तीमा ३० जना प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन्।

यसअघि ओली र दाहालबीच शुक्रबार साढे तीन घन्टा भएको छलफलमा दुबै जना आ आफ्नो अडानमा कायम रहे पनि छलफल सकारात्मक रहेको बताइएको थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छाड्नै पर्ने दबाब दिएका छन् ।

ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

तर, मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिदै आएका छन् ।