काठमाडौं – सर्लाहीमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करले स्थानीय रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटना स्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । सोही ठाउँका ३५ बर्षीय सुरेन्द्र महतोको टाउकोमा चोट लागेको छ । यस्तै, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।