आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

बागलुङको क्वारेन्टाइनमा २९ वर्षीय युवकको मृत्यु

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार ११:३१ मा प्रकाशित (४ साल अघि) ३०६ पाठक संख्या

बागलुङ – क्वारेन्टाइनमा बसेका बागलुङको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ।

निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।

उनको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ।