आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

स्वास्थ्यमा भ्रष्टाचारः २ सय प्रतिशत महँगोमा स्वास्थ्य सामग्री खरिद

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार ०९:५७ मा प्रकाशित (४ साल अघि) ५८४ पाठक संख्या

विश्वव्यापी कोरोना महामारी व्यवस्थापन तथा नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा व्यापक अनियमितता पाइएको छ। कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत दुई सय प्रतिशत महँगो मोलमा सामान खरिद गरी अनियमितता गरेको पाइएको हो।

केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय पर्ने पीपीई सेट ६ हजार ५ सय, ५ हजार पर्ने आईआर थर्मामिटर ८ हजार, ३ सय सम्म पर्ने एन–९५ मास्क ५ सय, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँ र १ सयदेखि बढीमा २ सय ५० सम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरी अनियमितता गरेको पाइएको छ।

खरिद गरिएको सामग्रीमध्ये खुद्रा दररेटमा पीपीई र थर्मामिटर प्रति सेट ३ हजार, एन–९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मोल निर्धारण गरिएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामानमध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मामिटरमा १२ लाख, एन–९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरी आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।