आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार ०९:५० मा प्रकाशित (४ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं- अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओले)ले कोभिड- १९ सँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई ४ लाख २४ हजार ३१० अमेरिकी डलर अर्थात् ५ करोड १० लाख नेपाली रुपैयाँ अनुदान दिने भएको छ। अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए।

‘संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकको लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारीबोधको रुपमा लिएका छौँ,’ अध्यक्ष पन्तले भने। विशेष गरी कोभिड- १९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थका लागि आइएलओले सो आर्थिक सहयोग गरेको उनले बताए।

कोभिड- १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिने उनको भनाई छ। संघले विभिन्न मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्यअघि बढाउने तयारी गरेको पनि अध्यक्ष पन्तले जानकारी दिए। विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी रहेको बताइएको छ। आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने उल्लेख गरिएको छ।