आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने-‘हुलहुज्जत गरेर निकाल्न खोजे म छाड्दिनँ,तपाईहरु पनि कित्ता छुट्टयाउनुस्’

गोकर्णेश्वर खबर२० असार २०७७, शनिबार २३:०९ मा प्रकाशित (४ साल अघि) २९९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई आफ्नो कित्ता स्पष्ट पार्न भनेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर उनले दुई,तीन दिनभित्र यसको जवाफ दिन समेत भनेको एक मन्त्रीले बताए।

आज अनौपचारिक बैठक भयो। त्यो बैठकमा प्रधानमन्त्रीले अब दुई तीन दिनपछि म तपाईंहरूलाई बोलाउँछु। तपाईंहरूले खुल्लमखुला भन्नुपर्छ कसको पक्षमा हो भनेर, ती मन्त्रीले भने, पार्टी गम्भीर मोडमा छ। मलाई निकाल्ने प्रयास भएको छ। अब तपाईंहरूले आफ्नो फैसला सुनाउनुपर्छ।

छलफलमा प्रधानमन्त्री ओलीले १५ मिनेट मात्रै आफ्ना धारणा राखेको ती मन्त्रीले जानकारी दिए।

पार्टी स्थायी कमिटीमा आफ्नो राजीनामा मागिएको प्रसंगसमेत उनले उठाएका थिए। पार्टी बैठकमा एजेन्डाभन्दा बाहिर गएर मेरो राजीनामा मागिएको छ। त्यस्तो अवस्थामा तपाईंहरू पनि स्पष्ट हुनुपर्छ, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अर्का एक मन्त्रीले भने, हुलहुज्जत तरिकाले मलाई हटाउन लागियो भने म पनि चुप लागेर बस्दिनँ।

उनले पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन मन्त्रीहरूलाई आग्रह गरेका थिए।