आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कांग्रेसले भन्यो- ‘संसदको चालु अधिवेशन अन्त्य अस्वाभाविक र खेदजनक’

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १६:२४ मा प्रकाशित (४ साल अघि) ५४५ पाठक संख्या

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मुख्य विपक्षी दल नेपाली कांग्रेस रूष्ट भएको छ ।

कांग्रेसले सरकारको निर्णय अस्वाभाविक र खेदजनक भनेको छ । सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने,‘नेकपाको आन्तरिक द्वन्द्वको व्यवस्थापन त्यही पार्टीका नेताहरुले गर्ने हो । पार्टीभित्रको द्वन्द्वका कारणले प्रधानमन्त्रीले सदन नै अवरोध गरिदिनुभयो । यो अनुचित र एक हिसाबले संसदीय मूल्य पद्धतिको बर्खिलाप पनि हो ।’

संघीय सदनमा कांग्रेसले जनतासँगको जोडिएका विषयहरु उठाइरहेको र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्व प्रस्ताव र ध्यानाकर्षण प्रस्तावसमेत सदनमा दर्ता भएको अवस्थामा संसद अधिवेशन अन्त्य गर्ने निर्णय खेदजनक भएको उनले बताए ।

सरकारले समेत विभिन्न विधेयकहरु टेवल गरेर प्रक्रिया अघि बढिरहेको र जनसरोकारका विषयहरु जनप्रतिनिधिहरुले संसदमै उठाउँदा सरकारलाई दबाब पनि हुने अवस्थामा सदन अन्त्य गरिनु अस्वाभाविक र खेदजनक भएको उनले बताए ।

सदनको अधिवेशन अन्त्य गर्ने सरकारका निर्णयका बारेमा जारी केन्द्रीय समितिमासमेत छलफल हुने प्रमुख सचेतक खाँणले बताए ।