आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

ओलीनिकट नेतासँग प्रचण्डले भने- ‘मैले विगतमा भएका सहमति र अडान छोडें,कमजोरी त्यही भयो’

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १३:४८ मा प्रकाशित (४ साल अघि) ३८६ पाठक संख्या

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूसँग दुबै अध्यक्षका कमजोरीहरू औंल्याउन भनेका छन्।

बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डले दुबै अध्यक्षका कमजोरी औंल्याए पार्टीमा निष्कर्ष निकाल्न सजिलो हुने बताएका हुन्।

‘तपाईंहरूले मेरा कमजोरी औंल्याइदिनुस् र अर्का अध्यक्षका कमजोरी पनि औंल्याइदिनुस्। त्यसो भयो भने एउटा निष्कर्ष निस्कन्छ,’ बैठकमा सहभागी सुवास नेम्वाङले प्रचण्डलाई उद्धृत गर्दै भने।

प्रचण्डले आफ्नो कमजोरी आफैंले सुनाएका पनि थिए।‘मेरो कमजोरी भनेको मैले राखेका अडानहरू छोड्नु हो। मैले विगतमा भएका सहमति र अडान छोडें। तर उहाँ (प्रधानमन्त्री ओली)ले पार्टीमा एकाधिकार गर्नुभयो। मेरो अपमान भयो,’ छलफलमा प्रचण्डले भने।

बुधबार साँझ आफू र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरूसँग परामर्श गरेका प्रचण्ड आज ओलीनिकट नेताहरूसँग छलफल गरेका हुन्।

खुमलटार स्रोतका अनुसार आजको छलफलमा ओली पक्षका बिष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने प्रचण्ड पक्षधर नेताहरू पनि उपस्थित थिए।

छलफलमा ओली पक्षीय नेताहरूले मिलेर जाउँ नत्र दुर्घटना हुन्छ भनेका थिए। उनीहरूले तपाईंहरू दुई जना मिलेर पार्टी एक बनाएकाले तपाईंहरू मिल्नु भएन भने पार्टी नरहने बताएका थिए।

‘भारतमा कम्युनिष्ट सकिइसके। नेपालमा पनि नेताहरू यसरी जुध्दै जाने हो भने त्यस्तै हालत नहोला भन्न सकिन्नँ,’ छलफलमा सुवास नेम्वाङले भनेका थिए।

प्रचण्ड पक्षधर नेताहरूले भने सहमतिका आधारमा नभई पार्टीले जे निर्णय गर्छ त्यही मानेर जानुको विकल्प नभएको बताएका थिए।

‘उहाँहरूले सहमति भन्नुभयो तर सहमतिको कुनै प्रस्ताव थिएन। हामीले पार्टीले सहमतिमा निर्णय गरे त्यो सबैले मान्ने बहुमतले निर्णय गरे त्यो पनि सबैले स्वीकार्नुमा नै सहमति हुने बताऔं,’ प्रचण्ड पक्षधर एक नेताले भने।

हिजो बुधबारमात्रै प्रचण्ड तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले आज बिहीबार बस्ने स्थायी समितिको वैठकमा अपनाउने रणनीतिका बारेमा छलफल गरेका थिए।

बैठकमा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल,गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित थिए। मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन्।

पार्टीभित्र आफूविरूद्ध बढेको विरोधका बारेमा छलफल गर्न ओलीले बुधबार अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

स्थायी समिति बैठकमा आफ्नो राजीनामाको माग भएपछि ओलीमाथि नैतिक दबाब सिर्जना भएको ठानिएको छ।

नेकपाको पछिल्लो स्थायी समिति बैठकमा देखिएको विरोधले प्रचण्ड नेपाल गुटको अंकगणित बलियो बनेको र उनीहरूले ओलीलाई दुबै पदबाट राजीनामा दिनुपर्ने राजनीतिक निर्णय गराउन सक्ने अनुमान छ।