आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

स्थायी कमिटी बैठकमा ओलीलाई प्रचण्डसहित शीर्ष नेताहरुले पारे र्‍याखर्‍याख्ती

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार १८:५० मा प्रकाशित (४ साल अघि) ३३६ पाठक संख्या

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन्।

नेकपाको स्थायी कमिटी बैठकमा तीन शीर्ष नेताहरुले ओलीलाई ‘तपाईँको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईँले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न पाउनुहुन्न’ भनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

‘तपाईँ मेरो राजीनामा भारतले माग्यो भनेर भन्नुहुन्छ। त्यस्तो होइन, तपाईँको राजीनामा विगतमा पनि मैले नै मागेको हो अहिले पनि मैले नै हो’, बैठकमा तीन शीर्ष नेताहरुले भनेको ती नेताले बताए।

दाहालले प्रधानमन्त्रीलाई पदमा कायम गर्ने अथवा हटाउने काम पार्टीभित्रैबाट हुने कुरा सबैले बुझ्न पर्ने पनि बैठकमा बताएका थिए । प्रचण्डले भारतविरुद्ध जथाभावी बोलेर ओलीले पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोप समेत लगाएका छन्।

‘भारतविरुद्ध बोलेर तपाईँले पार्टीको प्रतिष्ठा गिराउनु भो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित पार्न सकिँदैन,’ प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा हुबहु कसरी मिले भनेर प्रश्न गरेको स्रोतले बताएको छ।
यस्तै उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्री ओलीको भारतप्रति आरोप लगाइएको टिप्पणीले उनी आफैँको प्रतिष्ठा घटाएको उल्लेख गरेका थिए।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस नियन्त्रण र अन्य विषयमा छलफल गर्ने भनिए पनि मंगलबारको बैठक मूलतः प्रधानमन्त्रीको भारत केन्द्रित अभिव्यक्तिमै घुमेको सञ्चारकर्मीहरुसँग बताए।

बैठकमा बोलेका १८ जना स्थायी कमिटी सदस्यमध्ये अधिकांशले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।
बैठकमा सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, जनार्दन शर्मा, रघुजी पन्तलगायतले पनि केपी ओलीको शैली र अकूटनीतिक टिप्पणीको आलोचना गरेका थिए।