आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

सिन्धुलीका सबै स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार १३:५२ मा प्रकाशित (४ साल अघि) ४२४ पाठक संख्या

सिन्धुली १२, असार । सिन्धुलीको ९ वटै स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन । जिल्लाको घ्याङलेख गाउँपालिका बाहेक अन्य ८ वटा स्थानिय तहले ५ अर्ब १४ करोड ९ लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गरेका छन् ।

बजेट सार्वजनिक गरेका स्थानीयतहले कोरोनाभाइरस (कोभिड-१९)को सङ्क्रमणलाई नियन्त्रण लगायतक स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन, आय-आर्जन, शिक्षा, रोजगारलाई समेटेका छन् । स्थानिय तहमध्ये सबै भन्दा बढी कमलामाई नगरपालिकाले १ अर्ब १६ करोड ४८ लाख १२ हजार ६ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

जिल्लाको सदरमुकाम सिन्धुलीगढिले अन्य स्थानिय तहमध्ये सबै भन्दा बढी कमलामाई नगरपालिकाले १ अर्ब १६ करोड ४८ लाख १२ हजार ६ सय ६० रुपैयाँको बजेट सार्बजनिक गरेको छ ।

स्वास्थ्य क्षेत्रका साथै कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिइ सिन्धुलीगढीको विकास र प्रवर्द्धनका साथै नगरपालिकाको ८, ९, १०, १३ र १४ वडालाई कृषि औद्योगिक क्षेत्रको विकास गरि १३ नं. वडामा अटोमोवाईल शिक्षालय स्थापना गर्ने गरि बजेट सार्वजनिक गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको दुधौली नगरपालिकाले १ अर्ब २ करोड ५४ लाख ३९ हजार १ सय ६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मरिण गाउँपालिकाले ४८ करोड ४२ लाख ८३ हजार बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कृषि,स्वास्थ, शिक्षा गाउँपालिकाको बजेट प्राथमिकतामा परेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयाे ।

सुनकोसी गाउँपालिकाले भने एकमुष्ठमा ४८ करोड रुपैयाँबढीको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयाे । बुधबार सार्वजनिक गरिएको बजेटमाथी छलफल गरेर स्वाथ्य, कृषि, शिक्षा, रोजगार लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा विनियोजन गरिएको सुन्दासले जानकारी दिनुभयाे ।

उता हरिहरपुरगढी गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाई नै प्राथमिकतामा राखेर ४६ करोड ८० लाख रुपैयाँबढीको बजेट ल्याइएको गाउपालिकाका अध्यक्ष कार्साङ्ग लामाको भनाई छ । ‘आगामी वर्ष कोरोना भाईरसको संक्रमण व्यवस्थापन सहित चालु आर्थिक वर्षमा अधुरा रहेका कामहरुलाई समेत निरन्तरता दिँदै पूर्बाधार विकासमा समेत जोड दिइएको छ,लामाले भन्नुभयाे ।

तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कोरोना संक्रमणको व्यवस्थापन र उपचारमा स्वास्थ्य, रोजगारी, कृषि, पशुपालन, शिक्षा लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेर ६२ करोड ६८ लाख बढीको बजेट ल्याइएको छ ।

फिक्कल गाउँपालिकाले ४३ करोड ५९ लाख ४५ हजार ३ सय २४ रुपैयाँको बजेट सार्वजनि गरेको उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयाे  । ‘पालिकाले सार्बजनिक गरेको बजेटमध्ये सबै भन्दाबढी कृषिमा २५ प्रतिसत, शिक्षामा १५ प्रतिसत, स्वास्थ्य र रोजगारमा १०/१० प्रतिसत बजेट विनियोजन गरिएको छ,’ उहाँले भन्नुभयाे  ।

गोलन्जोर गाउँपालिकाले ४५ करोड ४२ लाख रुपैयाँको बजेट ल्याएको गाउपालिका अध्यक्ष पुष्प कार्किले जानकारी दिनुभयाे । जसमध्ये झण्डै २९ करोड २७ लाख ९३ हजार रुपैयाँ स्वास्थ्य, कृषि, शिक्षा तथा पूर्वाधारमा खर्च गरीने जनाइएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाले भने बुधबार आफ्नो नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेकाे छ ।

आगामी १४, १७ र २१ गतेसम्म नीति तथा कार्यक्रममाथी छलफल गरिने र २४ गते बजेट सार्वजनीक गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयाे ।