आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रियसभाबाट पारित

गोकर्णेश्वर खबर४ असार २०७७, बिहीबार १४:३७ मा प्रकाशित (४ साल अघि) ४८४ पाठक संख्या

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । नेपालको अद्यावधिक नक्सा अनुसार निशान छापमा रहेको नक्सा परिमार्जनका लागि राष्ट्रियसभाबाट सर्वसम्मतले संशोधन पारित भएको हो ।

बिहीबार राष्ट्रियसभामा छलफलपछि भएको मतदानमा जम्मा उपस्थित ५७ जना सांसद सबैले संशोधनको पक्षमा मतदान गरेका थिए । जम्मा ५९ जना राष्ट्रियसभा सदस्य भएपनि अध्यक्ष एक जनाले मतदान गर्न पाउँदैनन् भने एक सिट खाली रहेको छ । उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा (हुन्छ भन्ने पक्षमा) हस्ताक्षर गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको थियो । यसअघि गत शनिबार प्रतिनिधिसभाले उक्त संशोधनलाई सर्वसम्मतले पारित गरेको थियो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाबाट अब पारित भएको सूचना प्रतिनिधिसभालाई दिइनेछ । प्रनिधिधिसभामा पारित भएको सन्देश सुनाएर सभामुखले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुहुनेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको निशान छापमा अद्यावधिक नक्शा समेटिने छ ।