काठमाडौं / नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा सरकारका विभिन्न तहका अक्षम्य असफलता र अकर्मन्यताले गर्दा समुदायमा कोरोना संक्रमण फैलन रोक्न नसकेकोले कोरोना फैलन सक्ने प्रवल सम्भावना भएकोप्रति ध्यानाकर्षण गराएको छ ।
उक्त पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगी ज्ञापनपत्र बुझाउँदै पीसीआर टेष्टको दायरा बढाउन, व्यवस्थित क्वारेन्टाइन बनाउन, अस्पताल केन्द्रित तयारी गर्न, स्वास्थ्य सामग्री खरीद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्न पनि प्रधानमन्त्रीलाई भनेका थिए ।
उक्त पार्टीले बुझाएको ज्ञापनपत्रमा नेपाली काँग्रेसले यसअघि दिएका सुझाव र ध्यानाकर्षणलाई सरकारले मनन गरेको भए आजको अवस्था आउने नै थिएन भनिएको छ ।
ज्ञापनपत्रमा सरकारले यस्तो प्रकारको काम गर्नुपर्नेमा नगरीकन यस्तो समयमा सार्वजनिक भएका कल्पना पनि गर्न नहुने भ्रष्टाचार र अनियमितताका एकपछिका अर्को प्रकरणले सरकारको गैरजिम्वेवारीपन उजगारमात्र गरेको छैन,सरकारको नियतलाई समेत प्रष्ट पारेको छ भनिएको छ ।
साथै ज्ञापनपत्रमा जनताको स्वास्थ्यमाथिको खेलवाड र अर्कोतर्फ राज्यस्रोतको दुरुपयोग अशोभनीय मात्र होइन अक्षम्य छ, सरकारका यस किसिमका गतिविधिबाट हामी स्तब्ध भएका छौं भनिएको छ ।
साथै उसले ज्ञापनपत्रमार्फत राष्ट्रिय संकटको यस क्षणमा आवश्यक सहयोग र सुझाव दिएर सरकारलाई जवाफदेही बनाउने, जिम्वेवार र पारदर्शी बनाउन निरन्तर दवाव र खबरदारी गर्ने अनि राम्रो गर्दा ढाडस र बाटो विराउन खोज्दा प्रश्न गर्ने हाम्रो भुमिका निरन्तर छ र अझ शसक्त ढंगबाट यो भुमिका निर्वाह हुनेछ भनिएको छ ।